स्थायित्वका लागि एमाले र कांग्रेसबीच सत्ता सहकार्य: उपप्रधानमन्त्री सिंह
सुनसरी | पुस २१, २०८१
सुनसरी: उपप्रधानमन्त्री तथा सहरी विकासमन्त्री प्रकाशमान सिंहले नेकपा (एमाले) र नेपाली कांग्रेस मुख्य प्रतिस्पर्धी भए पनि सरकारको स्थायित्वका लागि सत्ता सहकार्य गरिएको बताउनुभएको छ ।
कांग्रेस धरान उपमहानगर कार्यसमितिले आज यहाँ आयोजना गरेको कार्यकर्ता भेटघाट कार्यक्रममा उहाँले सहमतिअनुसार दुवै पार्टीले इमान्दार भएर काम गरिरहेको बताउनुभयो ।
“विगतमा र आगामी निर्वाचनमा पनि कांग्रेस र एमालेबीच मुख्य प्रतिस्पर्धा हुने कुरा दुवै पार्टीलाई राम्ररी थाहा छ । अहिलेको परिस्थिति र आवश्यकताअनुसार अहिलेको सरकार बनेको हो । त्यसैले परिणाम दिनेगरी सरकारले काम गरिरहेको छ । यसअघि पूरा हुननसकेका योजना सम्पन्न गर्ने, आर्थिक र विकास निर्माणका काममा गतिदिने गरी सरकार अगाडि बढेको छ”, उहाँले भन्नुभयो ।
कांग्रेस नेता सिंहले देश विकास र जनसेवालाई केन्द्रमा राखेर पार्टी नेता तथा कार्यकर्तालाई क्रियाशील हुन आग्रह गर्नुभयो ।
कार्यक्रममा पूर्वउद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री एवं नेपाली कांग्रेस प्रचार विभाग प्रमुख मिनबहादुर विश्वकर्मा, पार्टीका कोशी प्रदेश महामन्त्री उमेश थापा, सुनसरी सभापति श्याम पोख्रेल, क्षेत्रीय सभापति सुजेन्द्र तामाङलगायतको सहभागिता रहेको थियो ।
रुकुम पूर्व: रुकुम पूर्वमा हिमपातका कारण मध्यपहाडी लोकमार्ग अवरुद्ध भएको छ । हिमपातका कारण लोकमार्गको लुकुम–पातिहाल्ना खण्ड अवरुद्ध भएको जिल्ला प्रहरी कार्यालय रुकुम पूर्वले जानकारी दिएको छ । लोकमार्ग...
पोखरा: छैटौं टाइगर कप राष्ट्रिय तथा अन्तर्राष्ट्रिय आमन्त्रित क्लव च्याम्पियनसिप सुरु भएको छ । टाइगर ग्रुप अफ पोखरा नेपालको आयोजनामा पोखरा रंगशालास्थित भलिबल कोर्टमा सुरु भएको च्याम्पियनसिपमा पहिलो दिन शसस्त्र...
पोखरा: पोखरा महानगर वडा नं १५ को आयोजनामा जारी वृहत खेलकुद महोत्सवमा शुक्रबार विद्यालय स्तरीय छात्रछात्रा दौड सम्पन्न भएका छन । जसअन्तर्गत छात्रा तर्फको दौडको उपाधि सेन्ट फ्रान्सिका बिजय बिकले ह...

